
- Loading...
दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो
- कृषि टि.भी.
- १ साल अघि
- ३८ पटक पढिएको


सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेकोमा लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले तोकेको मूल्य किसानको लागि हो, उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दूग्ध विकास संस्थानले तय गर्नेछ । किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आए पनि सरकारले साढे २ वर्षपछि हिजो मूल्य बढाएको हो । दूधको लागत मूल्यसमेत नउठेको भन्दै केन्द्रीय दूग्ध सहकारी सङ्घ लिमिटेडले मूल्यवृद्धिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेपछि अध्ययनका लागि समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा मूल्य बढाउने प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । विगतमा हरेक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको थिएन ।


