FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दूध बेचेरै वार्षिक ५० लाख

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३४ पटक पढिएको
    दूध बेचेरै वार्षिक ५० लाख

    भैरहवा। पन्ध्र वर्षअघि विदेश जान तम्सिएका बेला व्यावसायिक पशुपालन गरेर आत्मनिर्भर हुने योजना बनाउँदा रूपन्देहीका विष्णु गैरेलाई सबैले गाली गरे । गोठालो हुनुभन्दा विदेश गएर दुःख गर्न बेस भनेर सम्झाउने पनि नभएका होइनन् तर अहिले समय फेरिएको छ ।

    पढेलेखेको मान्छे गोठाले बन्यो भनेर गाली गर्ने नै सफलताको सूत्र खोज्न हिजोआज गैरेकहाँ आउँछन् । व्यावसायिक भैँसीपालनबाट छोटो समयमै धेरै प्रगति गर्न सफल गैरेले दूध बेचेरै वार्षिक ५० लाख आम्दानी गर्नुहुन्छ ।
    “खर्च कटाएर एक महिनामा दुई लाख बचत हुन्छ”–गैरेले भन्नुभयो । शुरुका दिनमा दैनिक १५० लिटरसम्म दूध बेच्नुभएका गैरेले अहिले दैनिक तीन सय लिटर दूध बेच्दै आउनुभएको छ ।

    वार्षिक ५० लाख बढीको आम्दानी गर्न सफल गैरेका गोठमा अहिले उन्नत जातका ७० माउ र पाडापाडी छन् । तीमध्ये ५० वटा दुहुना छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा पाँच बिघा जग्गा भाडामा लिएर व्यावसायिक भैँसीपालन गरेका गैरेको फर्ममा बिहानैदेखि दूध लिन आउनेको भीड लाग्छ ।
    “आधा गोठबाटै जान्छ, बाँकी आफ्नै डेरिमार्फत बेच्छु”–गैरेले भन्नुभयो । आफ्नो फर्मबाट उत्पादन हुने गुणस्तरीय दूध सोझै उपभोक्ता माझ पु¥याउन डेरी सञ्चालन गर्नु परेको उहाँले सुनाउनुभयो । दूधका अलावा मलबाट पनि वार्षिक दुई लाख बढी आम्दानी गर्दै आउनुभयो । उन्नत जातका पाडापाडी बेचेर पनि थप आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

    बढ्दो महँगी र बेरोजगारी समस्याले ८ जनाको परिवार पाल्न मुस्किल भएपछि खाडी जान ठिक्क परेका गैरेले अचानक आफ्नै गाउँ ठाउँमा बसेर व्यावसायिक कृषि गर्ने योजना बनाउनु भएको थियो । “मेरो निर्णयले वृद्ध बुबाआमा खुसी हुनुभयो”–विगत सम्झंँदै गैरेले भन्नुभयो–“सहरमा बसेर पनि भैँसी पाल्छन् भनेर अरूले खिसी गरे । ”

    झण्डै १५ वर्षअघि सहकारीबाट पाँच लाख ऋण लिएर शुरु गरेको गैरे पशुपालन तथा दुग्ध उत्पादक केन्द्रको लगानी अहिले सवा करोडको हाराहारीमा पुगेको छ । फर्मबाट १० जनाले रोजगारी पनि पाएका छन् भने उहाँ आफँै पनि बिहानदेखि बेलुकीसम्म फर्ममै व्यस्त हुनुहुन्छ । जिल्लामै नमुनाको रूपमा परिचित फर्मको अवलोकनका लागि रूपन्देहीलगायत कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, प्युठान, दाङ र चितवनबाट समेत दुग्ध उत्पादक सहकारीमा आबद्ध किसान तथा व्यावसायिक पशुपालनमा रुचि भएका युवा आउने गर्छन् । उहाँको सफलता देखेका सहपाठी युवा पनि विदेशबाट फर्किएर पशुपालनमा लाग्न तम्सिएका छन् ।

    भैँसीपालनका अलावा उहाँले एक बिघा क्षेत्रफलमा घाँसखेती गर्नुभएको छ भने दुई बिघामा अर्गानिक धान, मकै, गहुँखेती गर्नुभएको छ । तुलनात्मक रूपमा अर्गानिक गहुँ र धानको मूल्य राम्रो पाइने र खेतमै किन्नेको भीड लाग्ने भएकाले अन्न उत्पादनबाट पनि राम्रै आम्दानी भएको उहाँले बताउनुभयो । “खेती गर्दाको लागत कटाएर बचेको नाफाबाटै खान पुगेको छ”–गैरेले भन्नुभयो ।
    उहाँले आगामी दिनमा व्यावसायिक अर्गानिक तरकारी खेती गर्ने योजना समेत बनाउनुभएको छ ।

    व्यावसायिक गाईपालनको लहर चलेका बेला भैँसीपालनमा रमाइरहनु भएका विष्णु पौरखी र मेहिनेती बानीकै कारण जिल्लामै उदाहरणीय र प्रेरणादायी कृषक बन्न सफल हुनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित