FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बारीबाटै गोलभेँडा बिक्री

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २९ पटक पढिएको
    बारीबाटै गोलभेँडा बिक्री

    तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् ।

    विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती गरेका उनी अहिले बारीबाटै गोलभेँडा खोसाखोस हुन थालेपछि खेती विस्तारको अभियानमा लागेका छन् । उनले भने, “सुरुआती चरण भएकाले धेरै गोलभेँडा लगाएको थिइनँ, अहिले गाउँमै गोलभेँडाको माग बढी भएपछि खेती विस्तार गर्ने तयारी गरेको छु ।”

    उनले बारीबाटै प्रतिकिलो ५० रूपैयाँका दरले २०० किलोभन्दा बढी गोलभेँडा बिक्री भएको बताए । “बारीमा गोलभेँडा पाक्न नपाउँदै हरेक दिन गाउँले किन्न आइहाल्छन् । गाउँलेलाई गोलभेँडा पुर्याउन पनि हम्मेहम्मे परिरहेको छ”, गुरुङले भने । उनले यस वर्ष सिर्जनशील जातको गोलभेँडा २०० बोट मात्र लगाएका थिए । पहिलो पटकको खेती भएकाले परीक्षणका लागि थोरै मात्र गोलभेंडा लगाएको उनले बताए । “बजार र आम्दानीको सुनिश्चितता नभएकाले त्यति धेरै गोलभेँडा लगाइनँ, माग उच्च भयो, अब विस्तार गर्दैछु”, गुरुङले भने ।

    गाउँमै गोलभेंडा खोसाखोस हुन थालेपछि उत्साहित भएका गुरुङले अर्को याममा खेती थप विस्तार गर्ने योजना बनाएका छन् । उनी चारपटक वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देश पुगेका थिए । विदेशमा गएर केही उपलब्धि नभएपछि गाउँमै परिश्रम गर्ने उद्देश्यसहित फर्केका हुन् । गुरुङले बाख्रापालनसमेत थालेका छन् । विदेश जानुभन्दा गाउँमै सानो लगानी र कम जोखिममा तरकारी खेती र बाख्रापालन गर्नु उत्तम भएको उनको भनाइ छ ।

    गुरुङले स्थानीय जातका २० बाख्रा पालेका छन् । शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले गाउँमा उद्यमशील बन्न चाहने युवालाई वडा कार्यालयले सहयोग गर्ने बताए । सबै युवा गुरुङले जस्तै सकारात्मक सोच राखेर गाउँमा नै उत्पादनमूलक काममा लाग्ने हो भने देश समृद्ध बन्न धेरै समय नलाग्ने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित