- Loading...
हेटौंडाका ४१ हजार कुखुरा नष्ट गरिने
- कृषि टि.भी.
- ४ साल अघि
- २१ पटक पढिएको

हेटौंडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिने सर्तमा कुखुरा नष्ट गर्ने काम शुरु भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर–७, नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्र पर्ने ४१ हजार ५ सय जिउँदा कुखुरा नष्ट गर्न लागिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षतिपूर्तिसहित संक्रमित क्षेत्रका लेयर्स कुखुरा नष्ट गर्नेे निर्णय गरेको थियो । हेटौंडा–७ मा रहेका ४८ वटा फर्ममध्ये २८ वटा फर्ममा बाँकी रहेको कुखुरा नष्ट गर्ने काम भैरहेको प्रजिअ तामाङले बताउनुभयो ।

सीमाक्षेत्र बाहिरका कुखुरा फर्ममा पशु चिकित्सक टोली परिचालन गरी रोग नियन्त्रणका लागि नमूना संकलन गर्ने र रोग प्रमाणित भए कुखुरा नष्ट गरिने निर्णय भएको छ । संक्रमित क्षेत्रका ५० किसानले ७ करोड लागत बराबरको एक लाख कुखुरापालन गरेका थिए । साथै शुक्रबार बसेको बैठकले बर्डफ्ल नियन्त्रणका लागि आवश्यक जनशक्ति अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट माग गर्ने र नपुग जनशक्ति उच्च निकायबाट माग गरी रोग नियन्त्रण कक्षका संयोजकले खटाउने निर्णय गरेको छ । पशु सेवा विभागको प्राप्त पत्रअनुसार तोकिएका चार किल्लाका घरपालुवा पन्छीं तथा पन्छीजन्य पदार्थ नष्ट गरी उचित विसर्जन गरिने बताइएको छ । नष्ट गरिएका पन्छीं तथा पन्छीजन्य पदार्थको क्षतिपूर्तिको दररेट निर्धारण गर्न वर्डफ्ल नियन्त्रण आदेश, २०६४ बमोजिम क्षतिपूर्तिका लागि पशुसेवा विभागमा सिफारिस गरिएको छ । मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदो लेयर्स प्रतिगोटा ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकिलो ६५ रुपियाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई शनिबार पत्र बुझाएको थियो । बर्डफ्लु संक्रमण देखिएको चौलागाईंको फर्मका ६ हजार कुखुरा मरेका थिए । रोेगको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारबाट पन्छींजन्य उत्पादन ओसारपसारमा रोक लगाईसकेको छ । शुक्रबारको बैठकपछि प्रशासनले सिल गरेका क्षेत्रबाहेक अन्यत्रका उत्पादन बिक्री वितरण खुला गरेको छ । आइतबार बिहान सम्म १३ हजार बढी कुखुरा नष्ट गरिएको छ ।।

