- Loading...
यार्सागुम्बाले बजार पाएन
- कृषि टि.भी.
- ४ साल अघि
- ३० पटक पढिएको

दार्चुलामा यो वर्ष व्यवसायीले खरिद गरेको यार्सागुम्बा बिक्री हुन सकेको छैन । गत असार देखि भदौ सम्म खरिद गरिएका यार्सागुम्बा मध्ये दुई क्विन्टल भन्दा बढी अझै बिक्री हुन नसक्दा व्यापारी र सङ्कलक दुवै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतका रूपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि सङ्कलकहरूलाई आर्थिक समस्या परेको छ । यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्साबापतको रकम माग गरे पनि व्यापारीले खरिद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा तिर्न नसकेको बताएका छन् । यार्सागुम्बा गुणस्तर हेरेर प्रतिकिलो १७ लाख देखि २२ लाख सम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन् । काठमाडौँमा प्रतिकिलो १० लाख भन्दा बढी मूल्यमा बिक्री गर्न नसक्दा यार्सागुम्बामा प्रतिकिलोग्राम आठ लाख सम्म घाटा ब्यहोर्नु परेको उनिहरुको गुनासो छ । यार्सागुम्बाले मुल्य नपाएपछि व्यापारीहरूले बैङ्कको ऋण, आफन्तबाट निकालेको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या भएको बताएका छन् । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार हाल सम्म जिल्लाबाट ५ सय ५५ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ । कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसार पसार) निर्दे्शिका २०७३ अनुसार ८ सय २० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख गरेको छ ।


