- Loading...
चिया किसान आन्दोलीत
- कृषि टि.भी.
- ४ साल अघि
- २६ पटक पढिएको

- चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा पूर्वका चिया श्रमिकले न्यूनतम् ज्याला कार्यान्वयन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
चिया श्रमिकआबद्ध विभिन्न चार संघ–संगठनले आउँदो १७ गतेदेखि चिया प्रतिष्ठानहरू अनिश्चितकालीन बन्द गर्ने लगायतका माग राखी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले तोकेको न्यूनतम् ज्याला कार्यान्वयन नहुँदा पटक–पटक आन्दोलन गरिसकेका चिया श्रमिकले यसअघि सरकारसँग विभिन्न सम्झौता गरी आन्दोलन स्थगित गरेका थिए । तर, सम्झौता कार्यान्वयन नभएपछि चिया उत्पादन सुरु हुने बेला श्रमिकले आन्दोलन घोषणा गर्दा उद्योगहरूलाई करोडौं रुपैयाँको नोक्सान हुने देखिएको छ । श्रमिकले ज्याला कार्यान्वयनसँगै सबै चिया श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नसमेत माग गरेका छन् ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् । उनीहरूले चैत १७ देखि सबै चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्ने, त्यसै दिन दिउँसो झापाको चन्द्रगढीमा विरोधसभा गर्ने, १८ र २० गते आफू कार्यरत सबै एकाइमा औजारसहित विरोध प्रदर्शन गर्ने, १९ गते बिर्तामोडमा र चैत २१ मा काँकरभिट्टामा विरोधसभा गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । चिया श्रमिकलाई सरकारी स्वामित्वका चिया उद्योगले दैनिक ज्याला दुई सय ७८ रुपैयाँ दिइरहेका छन् । तर, चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकिएको छ । सरकारले गत साउन ३१ को राजपत्रमा चिया श्रमिकको न्यूनतम् मासिक ज्याला ६ हजार चार सय ६९ र महँगी भत्ता चार हजार तीन सय १२ गरी १० हजार सात सय ८१ रुपैयाँ तोकेको थियो । जसमा कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक ४२ रुपैयाँ थपिएको छ । तर, साउन १ देखि नै लागू हुनुपर्ने यो ज्याला अहिलेसम्म कार्यान्वयन भएको छैन । इलाममा चार र झापामा तीन चिया बगान सरकारी स्वामित्वमा संचालित छन् । यी बगानमा मात्रै ६ सय चिया श्रमिक स्थायी छन् भने दैनिक ज्यालादारीमा काम गर्नेको संख्या त्योभन्दा धेरै रहेको छ । सातै बगान सरकारले २०५७ सालमा त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि लिजमा दिएको छ । इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग संचालित छन् । देशभर एक सय आठ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तथ्यांकअनुसार देशभर ३० लाख ९५ हजार दुई सय ८४ ले चिया क्षेत्रमा रोजगारी पाएका छन् । तीमध्ये तीन हजार दुई सय ४४ स्थायी श्रमिक छन् भने बाँकी अस्थायी रूपमा काम गरिरहेका छन् ।।


