- Loading...
विषादी प्रयोगमा कडाई
- कृषि टि.भी.
- ३ साल अघि
- १५ पटक पढिएको

कृषि उत्पादन बढाउनका लागि हदबन्दी भन्दा बढी विषादी बिक्री वितरण गर्नेलाई १ लाख रुपैयाँ जरिमाना गरिने भएको छ ।
जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था गरिएको छ । जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न तथा त्यस्तो विषादीको अवशेष हद भन्दा बढी मात्रा हुने गरी उत्पादन तथा बिक्री वितरण गर्न नपाइने विधेयक प्रस्तावनाको दफा १७ मा उल्लेख गरिएको छ । सो विपरीत कार्य गरेमा ५० हजार देखि १ लाख सम्मको जरिमाना वा तीन महिना सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसार पसार गर्दा तोकिए बमोजिमका सुरक्षात्मक उपाय अपनाउनुपर्ने व्यवस्था प्रस्तावनामा छ । यसै गरी, उक्त विधेयकमा विषादी प्रयोग गर्न इजाजतपत्र अनिवार्य लिनु पर्ने, जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने कुनै व्यक्ति, संस्था वा निकायले सो कार्य गर्नु पूर्व केन्द्रबाट इजाजत लिनु पर्ने व्यवस्था गरिएको छ । छुट्टै प्रयोगशाला स्थापना नभए सम्मका लागि मन्त्रालयले नेपाल सरकारको लगानीमा सञ्चालित वा निजी स्तरका मान्यता प्राप्त प्रयोगशालालाई जिम्मेवारी दिन सक्ने विधेयकमा उल्लेख छ ।

