- Loading...
स्याउ जोन घोषणा
- कृषि टि.भी.
- ३ साल अघि
- १५ पटक पढिएको

स्याउ जोन मुस्ताङमा सूचीकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइअन्तर्गत मुस्ताङमा पहिलोपटक स्याउ जोन घोषणा भएको हो ।परियोजना कार्यान्वयन इकाइ स्याउ जोन कार्यालयले जिल्लाका पाँचवटै स्थानीय तहका किसानलाई जोनमा सूचीकृत हुन गत पुसदेखि सूचना जारी गरी जानकारी गराएको थियो । चालू वर्ष स्याउ जोन कार्यक्रममा सूचीकृतका लागि आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका किसान छन् भने लोमान्थाङ गाउँपालिकाबाट सूचीकृतका लागि कुनै पनि आवदेन परेको छैन । घरपझोङबाट ३१ जना, वारागुङबाट आठ जना, थासाङबाट आठ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट चार जना किसानले सूचीकृतका लागि आवेदन दिएको परियोजना कार्यान्वयन इकाइले जनाएको छ । ईकाईका अनुशार चालू वर्ष ५१ जनाले जोन सूचीकृतका लागि आवेदन दिएको र यसमा छुटेकालाई आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गरिने कार्यक्रम रहेको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सूचीकृत गर्ने कार्यसँगै परियोजनाको कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन स्याउ जोन सञ्चालक समितिसमेत गठन गरिएको छ । समितिमा सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरी समिति गठन भएको कार्यालयले जनाएको छ । घरपझोङ निवासी जयन्द्रलाल थकालीको अध्यक्षतामा नौ सदस्यीय स्याउ जोन कार्यसमिति गठन भएको हो । स्याउ जोन विस्तारका लागि साना सिँचाइ पूर्वाधार कार्यक्रमअन्तर्गत संघीय सरकारबाट १५ लाख बजेट विनियोजन गरिएको छ ।

परियोजना कार्यान्वयन इकाइ मुस्ताङका लागि चालू वर्ष पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हाइरिङ सेन्टरका लागि उक्त रकम विनियोजन गरिएको हो । जोनमा आबद्ध किसानले पोस्ट हार्भेस्ट सेन्टर स्थापनाका लागि सम्बन्धित र जोन व्यावसायीकरणका लागि प्रशोधन केन्द्र गोदाम घर, ग्रेडिङ, तौलाइ यन्त्र, प्रिन्टिङ प्याकेजिङ, लेबलिङ ढुवानी र बिक्री कक्ष पूर्वाधारका साथै उत्पादन उप्रान्त उपज व्यवस्थापन र त्यसका लागि ढुवानी साधन खरिद गर्न सकिने कार्यसूचीमा उल्लेख छ । सूचीकृत किसानले उल्लिखित सामग्री खरिदका लागि ८५ प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ । कृषि यान्त्रिकीकरण सामग्री खरिदका लागि सूचीकृत किसानले ५० प्रतिशत अनुदान पाउनेछन् । स्याउ उत्पादनदेखि भण्डारणसम्म किसानलाई आवश्यक पर्ने मेसिनरी औजार तथा उपकरण खरिदमा अनुदान प्राप्त हुने कार्यालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार ५ सय हेक्टरमा गरिने स्याउ खेतीलाई जोनमा सूचीकृत गरेको हो । मुस्ताङमा गत वर्ष १२ सय हेक्टर जमिनमा स्याउ खेती हुँदै आएकोमा चालू वर्ष ५७ हेक्टर थप जमिनमा स्याउ खेती विस्तार गरिएको छ । मुस्ताङमा १२ सय ५७ हेक्टरमा स्याउ खेती गरिए पनि ४ सय ५० हेक्टर जमिनमा मात्र स्याउको उत्पादन हँदें आएको छ ।।

