- Loading...
हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट
- कृषि टि.भी.
- ४ साल अघि
- १६ पटक पढिएको

बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो । बर्डफ्लू प्रभावित क्षेत्रमा रहेका ४८ वटा पोल्ट्री फार्मबाट हेटौंडाको वडा नम्बर ६, ७, १६, १७ लगायत स्थानका कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । बर्डफ्लू रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णयअनुसार चैत ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट गरिएको समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । जिल्लामा बर्डफ्लू फैलिएकाले उच्च प्राथमिकतामा राखी नियन्त्रणको थप प्रयास समेत भैरहेको उहाँको भनाई छ । यसका साथै हेटौंडा उपमहानगरपालिकाको हटिया र कमानेमा बर्डफ्लूको संक्रमित थप कुखुरा, अण्डा र दाना समेत नष्ट गरिएको छ । बर्डफ्लूका कारण हेटौंडामा कुखुराको मासु र अण्डा बिक्री वितरणमा उल्लेख्य कमी आएको व्यवसायीको भनाइ छ । बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिका सचिव एवं भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलको नेतृत्वमा कखुरा नष्ट गर्ने अभियान चलाइएको थियो । प्रहरी, प्रशासनको उपस्थितिमा काठमाडौंबाट आएका र भेटेरेनरी अस्पतालका पशु चिकित्सक तथा प्राविधिक कर्मचारीले विशेष पोशाक लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका थिए । प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्डफ्लु प्रभावित क्षेत्रको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति दिने निर्णय गरेको छ । तामाङका अनुसार प्रतिकुखुरा लेयर्स नौ सय, बोइलर चार सय, दाना प्रतिकेजी ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गरेको छ । हेटौंडा–७ नागस्वतीका कुलप्रसाद चौलागाईंको कमर्सियल लेयर्स फार्ममा मरेका लेयर्स कुखुरामा बर्डफ्लू फेला परेपछि रोग नियन्त्रण गर्न प्रशासनले कुखुरा, अण्डा र सुली अन्यत्र निकासीमा रोक लगाएको थियो । ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि नमूना संकलन गरेका हेटौंडा–७ मा कुखुरा बिक्रीमा फागुन १४ बाट प्रशासनले रोक लगाएको थियो । फागुन दोस्रो सातापछि हेटौंडा–७ कमानेसहित जिल्लामा करिब २५ हजारभन्दा बढी कुखुरा मरेको किसानले बताएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मरेको कुखुराको दोस्रोपटक पठाएको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू फेला परेको थियो ।


