- Loading...
विनाशकारी हावाहुरी
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

सरकारले आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । भीषण हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मृतक मध्ये २५ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिला रहेका छन् । त्यस्तै बारा र पर्साका ७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेहरुको उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १ सय १६, नेशनल मेडिकल कलेज वीरगञ्जमा १ सय, गण्डक अस्पताल वीरगञ्जमा २८, वीरगञ्ज हेल्थ केयरमा ३९, एड्भान्स अस्पताल वीरगञ्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगञ्जमा २ जना गरी ३ सय ४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रायका प्रवक्ता रामकृष्ण सुवेदीले सामान्य घाइतेको स्थानीय अस्पताल र गम्भीर घाइतेको काठमाडौमा ल्याई उपचार भईरहेको समेत जानकारी दिनुभयो । त्यस्तै उहाले बारामा २६ र पर्सामा १ जनाको निधन भएको बताउनु भयो । उहाले तीन वटै तहबाट उद्धार र राहतका काम जारी रहेको जानकारी दिनु भएको छ । बारा र पर्साको विपत व्यवस्थापन समितिले क्षतीको पूृर्ण विवरण संकलन गर्ने कार्य पनि जारी रहेको र केन्द्रबाट राती नै राहतको सामाग्री पठाएको पनि उहाँले जानकारी दिनु भयो । हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १२ गण्डक नजिकै बिजुलीको पोल ढल्दा हेटौँडाबाट वीरगञ्ज गइरहेको ना ६ ख ९३६० नम्बरको बसमा सवार १ जनाको मृत्यु हुनुको साथै ५ जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ । बारामा भने घर भत्कँदा मृत्यु र घाइते भएको पनि मन्त्रालयले जनाएको छ । हावाहुरीले सबै भन्दा बढि बाराको फेटा गाउँपालिकाको भरबलियामा क्षति र्पुयाएको छ । त्यहाँ १ सय ५० भन्दा धेरै घर भत्केका छन् । फेटा गाउँपालिकाको दुई वडाका १५ जनाको मृत्यु भएको छ ।

