- Loading...
पुरा भएन संस्थानको लक्ष्य
- कृषि टि.भी.
- ४ साल अघि
- १८ पटक पढिएको

गत वर्षहरू भन्दा एक महिना ढिला गरी धान खरिद प्रक्रिया सुरु गरेको नेपाल खाद्य संस्थानले लिएको लक्ष्यमा ७१ प्रतिशत मात्रै धान खरिद गरेको छ । संस्थानले धान खरिद गर्न सुरु गरेको चार महिनामा कञ्चनपुर देखि झापा सम्म गरेर उक्त परिमाणको धान खरिद गरेको हो । संस्थानले यस वर्षका लागि तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर दुई लाख २५ हजार क्विन्टल मात्रै खरिद गर्न सफल भएको छ । जुन यो वर्ष लिएको लक्ष्य भन्दा एक लाख २५ हजार क्विन्टल कमी रहेको छ । अघिल्ला वर्षहरूमा कात्तिकको सुरु देखि धान खरिद प्रक्रिया सुरु गर्दै आएको संस्थानले यस पटक मङ्सिरको पहिलो साता देखि मात्रै धान खरिदको प्रक्रिया सुरु गरेको थियो । संस्थानले यस पटक धान महँगो भएकाले पनि लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको जनाएको छ ।

गत साउनमा सरकारले गरेको निर्णय अनुरूप तोकिएको समर्थन मूल्यमा धान खरिद गरिरहेको संस्थानले जानकारी दिएको छ । संस्थानले यस वर्ष तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्ने योजना सहित ९१ करोड बजेट विनियोजन गरेको थियो । गत साउन २३ गतेको मन्त्रिपरिद्को बैठकले मोटो धानको प्रतिक्विन्टल दुई हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको दुई हजार ४ सय ६० रुपैयाँ ५७ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १५ गते संस्थानलाई कार्यान्वयनका लागि दिएको निर्देशन अनुरूप सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरेको संस्थानको भनाई छ ।

