- Loading...
चिनी जाँचपास
- कृषि टि.भी.
- ४ साल अघि
- ४६ पटक पढिएको

सिर्सिया सुक्खा बन्दरगाहमा थन्किएको सबै चिनी साल्ट ट्रेडिङ कर्पोरेसनले जाँचपास गराएर लगेको छ । कर्पोरेशनले सबै चिनी छुटाउन ५ करोड रुपैयाँ बैंक धरौटी राख्नु परेको छ । सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देजका कारण कर्पोरेशनको २ हजार ५ सय टन चिनी बन्दरगाहमा अड्किएको थियो । बैंक ग्यारेन्टी बुझाए पछि साल्टले चैत २१ देखि २७ सम्म गरी २ हजार टन चिनी छुटाएर लगेको हो । २ महिना अघि १ करोड रुपैयाँ यसरी नै बैंक ग्यारेन्टी राखी कर्पोरेसनले करिब ५ सय टन चिनी लगेको थियो । बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका अनुसार फेब्रुअरी २७ सम्म साल्टको गोदाम भाडा तथा अन्य शुल्क समेत गरी ६ करोड ८५ लाख २५ हजार रुपैयाँ पुगिसकेको छ । साल्टले हिमालयन टर्मिनल्स सञ्चालक समितिमा शुल्क छुटका लागि निवेदन दिएको तर समितिले त्यस सम्बन्धमा हाल सम्म कुनै निर्णय नलिएको कर्पोरेशनले जनाएको छ ।

मन्त्रिपरिषद्ले २ महिना अघि सो बन्दरगाहमा रहेको साल्ट ट्रेडिङको २ हजार ५ सय टन र नेपालगन्ज भन्सारमा अड्किएको विभिन्न आयातकर्ताको १ सय ४४ टन चिनी जाँचपास गर्न दिने निर्णय गरे पछि बन्दरगाहमाअ अड्कीएको चिनी छुटाउने बाटो खुलेको थियो । मन्त्रिपरिषद्ले भन्सार बिन्दुमा भित्रिसकेको चिनीको हकमा मात्र यो निर्णय गरेको हो । सरकारले भन्सार नाका हुँदै चिनी आयातमा लगाएको परिमाणात्मक बन्देजका कारण सिर्सिया बन्दरगाहमा असोज ६ देखि कर्पोरेसनको चिनी थन्किएको थियो । निजी क्षेत्रका चिनी उत्पादकहरूको चर्को लबिङका कारण सरकारले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको छ ।।

