- Loading...
चिया श्रमिकको आन्दोलन
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग राख्दै सुरु गरेको आन्दोलन थप कडा हुँदै गएको छ । सरकारले तोकेको दैनिक न्यूनतम ज्याला इलामका निजी चिया उद्योगले दिने प्रतिबद्धता जनाए पनि सरकारी स्वामित्वका बगानले अहिले सम्म श्रमिकका माग प्रति चासो नदेखाउँदा श्रमिकको आन्दोलन कडा बन्दै गएको हो । गत चैत १७ गते देखि इलाम र झापामा रहेका सरकारी स्वामित्वका सातवटा चिया बगानमा कार्यरत श्रमिकहरू काम नै छोडेर दैनिक आन्दोलनमा रहेका छन् । उद्योग भित्र भन्दा बाहिर बगानमा कार्यरत श्रमिकहरूलाई नयाँ ज्यालादर कार्यान्वयन गर्न बगान व्यवस्थापन पक्ष असमर्थ रहेको उनिहरुले बताएका छन् । बगानमा कार्यरत श्रमिकको काम दैनिक पाँच घण्टा मात्र हुने भएकाले सरकारले तोकेको ज्याला दिँदा बगान घाटामा जाने उद्योग व्यवस्थापनको भनाई छ ।

उद्योग भित्रको हकमा भने ज्याला कार्यान्वयन गर्न सकिने उद्योग व्यवस्थापनले बताएको छ । श्रमिकको आन्दोलनका कारण ‘फस्ट फ्लस’ चिया प्रशोधन गर्न नपाउँदा व्यवस्थापन पक्ष लाखौँ रुपैयाँ घाटामा गएको छ । अहिले सरकारी स्वामित्वका इलाम र झापाका सातवटै चिया बगान तथा उद्योगहरू बन्द रहेका छन् । श्रमिकले आगामी ७ गते सङ्घीय सांसदलाई घेराउ गर्ने, ८ गते चिया उत्पादक क्षेत्र भएका जिल्लाका जिल्ला समन्वय समितिको कार्यालयमा घेराउ गर्ने, ९ गते प्रदेशको मुख्यमन्त्री कार्यालयमा डेलिगेसन जाने र १० गते प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ कार्यक्रम रहेको नेपाल चिया बगान श्रमिक सङ्घले जानकारी दिएको छ ।

