- Loading...
चिनीमा बन्देज यथावत
- कृषि टि.भी.
- ४ साल अघि
- ३१ पटक पढिएको

तीन साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताए पनि आयातमा परिमाणात्मक बन्देज यथावत् रहने भएको छ । ओली नेतृत्वकै मन्त्रिपरिषद् निर्णयले चिनीको आयात बन्देजलाई जारी राख्ने भएको हो । वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले पठाएको सूचनामा परिमाणत्मक बन्देजको अवधिलाई २०७६ असार मसान्त सम्म निरन्तरता दिने उल्लेख छ । उक्त सूचना वैशाख २ गतेको राजपत्रमा प्रकाशित भएको हो । सरकारले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशबाट आयात गरिने चिनीमा परिमाणात्मक बन्देज लगाउने गरी प्रकाशित सूचना बमोजिम विदेशबाट आयात गरिने चिनीमा लगाइएको परिमाणात्मक बन्देजको अवधिलाई २०७६ असार मसान्त सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

गत वर्ष दसैंको मुखमा भन्सार महसुल १५ प्रतिशतबाट ३० प्रतिशत र्पुयाएको सरकारले उद्योगीकै दबाबमा भदौ ३१ मा एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गरेको थियो । त्यसको झन्डै ८ महिना पछि प्रधानमन्त्री ओलीले व्यवसायीले झुक्याएर ठगी गरेको सार्वजनिक अभिव्यक्ति समेत दिनु भएको थियो । यता चिनी उद्योगीले उखु किसानलाई झन्डै ८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । नेपाल उखु उत्पादक महासंघका अनुसार इन्दुशंकरले एक महिनाको भुक्तानी गरेको छ । एभरेस्ट सुगर मिलले ९ दिनको भुक्तानी गरेको छ । त्यस पश्चात् अन्य उद्योगले भिने भुक्तनी गरेका छैनन् ।

