- Loading...
खाद्य संस्थान विराटनगरमा धान बेच्ने किसानको खाँचो
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

किसानहरूले धान बेच्न नल्याएका कारण नेपाल खाद्य संस्थानको विराटनगरस्थित कार्यालयमा यसवर्ष धान खरिद प्रक्रिया सुरु हुन सकेको छैन । मंसिर सकिन लाग्दासमेत किसानहरूले बिक्रीका लागि धान नल्याएपछि संस्थान के गर्ने भन्ने अन्योलमा परेको छ । खाद्य संस्थानको विराटनगरस्थित अञ्चल कार्यालयले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा यस सिजनमा १० हजार क्विन्टल धान खरिद गर्ने जिम्मेवारी पाएको छ । तर हालसम्म किसानहरू धान बेच्न संस्थानको सम्पर्कमा नआएको कार्यालयका लेखा प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिनुभएको हो । यसअघि वास्तविक किसानहरूसँग भन्दा पनि बिचौलिया व्यापारीहरूसँग संस्थानले धान खरिद गरेको भन्दै धेरै गुनासाहरू आएकाले संस्थानले यसपटक भने सुनसरी र मोरङका सबै स्थानीय तहहरूमा धान खरिदको सूचना पठाएको संस्थानले जनाएको छ । किसानका नाममा बिचौलियालाई फाइदा नदिन संस्थानले एक बिघा खेती गर्ने किसानसँग एक सय मन अर्थात् चार हजार किलोग्रामका दरले धान खरिद गर्ने सीमा निर्धारण गरेको छ । धान बेच्नका लागि किसानहरूले नागरिकता र धान फलाएको खेतको धनीपुर्जासमेत ल्याउनुपर्ने प्रावधान राखिएको कार्यालयले जनाएको छ । खाद्य संस्थान विराटनगरले खासगरी मोरङ कारागार, सुनसरीको झुम्का कारागार, धनकुटा कारागार र तेह्रथुम कारागारमा चामल आपूर्ति गर्दै आएको छ । चारै जिल्ला कारागारसँग सोना मन्सुली चामल दिने सम्झौता गरेकाले संस्थानको किसानहरूसँग सोना मन्सुली जातको धान मात्रै खरिद गर्ने गरेको छ ।।


