- Loading...
चिउरीको घिउ बेचेर मनग्य आम्दानी
- कृषि टि.भी.
- ३ साल अघि
- ३४ पटक पढिएको

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–४स्थित खैरेनीका हीरामणि रानाले चिउरीको घिउ बेचेर २० लाख रुपैयाँ बढी आम्दानी गरेका छन् ।
चिउरीको घिउ बेचेर ठूलो परिणाममा रकम कमाउने उहा जिल्लाकै पहिलो व्यवसायी हुन् । जंगलमा त्यसै खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घिउ बनाएपछि सोही क्षेत्रका स्थानीय समेत चकित भएका छन् । रानाले उत्पादन गरेको चिउरीको घिउ हर्बल साबुन बनाउन प्रयोग हुदै आएको छ । पाँच लाख रकममा स्थानीयसँग ७० क्विन्टल चिउरीको दाना खरिद गरेका व्यवसायी रानाले उत्पादित घिउ बिक्रीका लागि हसना हर्बल उद्योग काठमाडौँसँग सम्झौता गरेका छन् । व्यवसायीका अनुसार बजारको कुनै समस्या नभएको र उत्पादनका आधारमा आम्दानी हुने गरेको बताइएको छ । यसवर्ष व्यवसायी रानाले प्रतिकिलो साढे दुई सयमा बिक्री गर्ने सम्झौता गरेको बताउनुभयो । कालिमाटी गाउँपालिकाका विभिन्न जंगलमा प्रशस्त मात्रामा चिउरी पाइने गरेको छ । जंगलमा चिउरी पाइने भएकाले कालिमाटीका स्थानीयले मौरीपालनमा समेत जोड दिएका छन् । हरेक वर्ष चिउरी पाइने क्षेत्रमा मौरीपालन गरेर स्थानीयले लाखौँ रकम आम्दानी गर्न सफल भएका छन । जेठ महिनादेखि पाक्न सुरु गर्ने चिउरीको बिरुवा रोपेको झन्डै २५ वर्षपछि मात्रै फलदिन सुरु गर्दछ । स्थानीय कुवेर केसीका अनुसार गाउँमा पहिलोपल्ट चिउरीको दाना बिक्री हुन थालेपछि एक सय जनाभन्दा बढीले दाना टिप्ने रोजगारी पाएका छन् । चिउरीको दाना संकलन गरी बिक्री गर्ने हरेक किसानले चार हजारदेखि १० हजारसम्म आम्दानी गरेको स्थानीयले बताएका छन ।।


