- Loading...
अण्डा उत्पादनमा कमी
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

बाँके जिल्लामा अहिले दैनिक दुई लाखभन्दा बढी अण्डाको माग भएपनि आन्तरिक उत्पादन भने ६० हजार मात्रै रहेको छ । नेपाल अण्डा उत्पादक संघ बाँकेका अनुसार जिल्लामा मागभन्दा उत्पादन धेरै कम हुँदा भारतबाट अवैध रूपमा भित्रिने तथा चितवन र दाङलगायतका जिल्लाबाट आयात गरेर बजारको मागलाई पूरा गर्ने गरिएको छ । संघका जिल्ला अध्यक्ष ललितबहादुर जिसीका अनुसार भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डाको आयात रोक्न नसक्नु र सरकारले अण्डाको मूल्य निर्धारण गर्न नसक्नुका कारण स्थानीय अण्डा उत्पादक किसानले प्रतिस्पर्धा गर्न नसकेपछि उत्पादक किसानको संख्या पनि घट्दै गएको छ । यस्तै भारतबाट अबैध बाटो भएर भित्राइने अण्डा सस्तो पर्ने तथा त्यसमा बढी नाफा पाइने हुँदा अधिकांश व्यवसायीले समेत सोही अण्डा बिक्री गर्ने गरेकाले बाँके र बर्दियाका अण्डा उत्पादक किसान पेसाबाटै पलायन हुँदै गएको अधिकांश व्यवसायीको गुनासो छ । अहिले आपूर्तिकर्ताले सिन्डिकेट लगाई किसानको घरमै गएर २ सय ५० रुपैयाँमा प्रतिक्यारेट अण्डा उठाइरहेका छन् । जसले गर्दा किसानलाई मर्का परेको र उचित मूल्य नपाएको भन्दै धेरै किसानले उत्पादन बन्द गरेका छन् । संघका अनुसार बाँके र बर्दियामा व्यावसायिक रूपमा बढी अण्डा उत्पादन गर्ने किसान हाल ३० जना मात्र रहेका छन् । यसअघि ७२ जना किसानले व्यवसायिक रूपमा अण्डा उत्पादन गर्दै आएकामा भारतीय अण्डा र बाहिरी जिल्लाबाट आउने अण्डाको मूल्यसँंग प्रतिस्पर्धा गर्न नसक्दा अहिले ३० जना मात्र किसानले उत्पादन गरिरहेको संघका अध्यक्ष जिसीले बताउनुभयो । केही समयअघिसम्म दैनिक एक लाखदेखि डेढ लाखसम्म अण्डा उत्पादन हुँदै आएकामा उत्पादक किसान घट्दै गएपछि उत्पादन पनि घट्दै गएकाले अहिले दैनिक ६० हजार मात्र अण्डा उत्पादन भइरहेको बताइएको छ ।।


