- Loading...
उदयपुरको धानमा फौजी किराको प्रकोप
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

विगत वर्षहरुको तुलनामा यस वर्ष उदयपुरको धान उत्पादन घटेको छ । धान पसाएकै बेला अमेरिकन फौजी किराको प्रकोप बढेका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र गाईघाटले जनाएको छ । पसाएदेखि पाक्ने बेलासम्म फैलिएको उक्त किराले धान उत्पादनमा कमि आएको ज्ञान केन्द्रले जनाएको छ ।
उदयपुरमा चालु आर्थिक वर्षमा १२ हजार ७ सय ११ हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाइएको थियो । जसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा सोही किराको प्रकोप फैलिएको थियो । साढे ३ सय हेक्टरको धान फौजी किराले नष्ट गरेपछि ०७६÷०७७ मा ४७ हजार ९ सय २० मेट्रिकटन मात्र उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष भन्दा ४ हजार ७ सय ८१ मेट्रिकटन धान यसवर्ष कम उत्पादन हुनुमा मुख्य कारण फौजीको प्रकोपलाई नै मानिएको ज्ञान केन्द्रको दावी छ । यसको आधारमा फौजीले जिल्लामा २९ लाख २९ हजार रुपैयाँ बराबरको धानमा क्षति पुगेको ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीले बताउनुभयो । केन्द्रका अनुसार विगत वर्षहरुमा सामान्य रोगका किरा लागे पनि प्रकोपको रुपमा कहिल्यै लागेको थिएन । तर यसवर्ष अत्यधिक किरा लाग्ने गरी प्रकोप फैलिएर किसानलाई ठुलो क्षति पुगेको छ । केन्द्रका तथ्यांक अनुसार फौजीले सबैभन्दा बढी क्षति चौदण्डीगढी नगरपालिकामा गरेको छ । त्रियुगा र बेलका नगरपालिकामा पनि क्षति गरेको विवरण ज्ञान केन्द्रले बताएको छ । यस्तै सोही प्रकोपले यसवर्ष ३ हजार १ सय ५३ घरपरिवार किसान प्रभावित भएका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो ।।


