- Loading...
सडक जोडिएसँगै बजारीकरणमा विकास
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

सिन्धुलीको महाभारत क्षेत्रको जुनार सकिन लागेको छ । अहिलेसम्म ७० प्रतिशत हाराहारीमा जुनार बिक्री भइसकेको छ । मंसिरदेखि जुनार पाकेर खानयोग्य हुने भएपनि चाडका कारण हरियै जुनार बजारमा ल्याएर बिक्री गरेकाले सिजन नसकिँदै रुख खाली भएका छन । यसअघि फागुनसम्म बोटमै जुनार रहने गरेका थिए । तर सडक सञ्जाल पुगेपछि बगैंचाबाटै व्यवसायीले जुनार लैजाने गरेको किसानहरुले बताएका छन । गतवर्षको तुलनामा सिजन अगावै किसानले जुनारको मूल्य राम्रो पाएपछि काँचोमै बिक्री गरिएको किसान लोकबहादुर आलेले जानकारी दिनुभयो । दाना लाग्ने समयमा असिना परेपछि अघिल्लो वर्षको भन्दा यसवर्ष जुनार उत्पादनमा कमी आएको छ । माग बढि रहेपनि यसको उत्पादन भने घट्दै गएको स्थानीयको भनाई छ । बीपी राजमार्ग निर्माण भएपछि पूर्वी तराईसहित काठमाडौंलगायत स्थानमा जुनार कोसेलीका रूपमा लैजाने क्रम बढेको छ । यस वर्ष सिजनअगावै आधाभन्दा बढी जुनार बिक्री भएको गोलन्जोर गाउँपालिका खनियाँखर्कका किसान निर्मल रम्तेलले बताउनुभएको छ । बजारमा जुनार प्रतिकिलो १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । फागुन महिनासम्म हुनुपर्ने जुनार यसवर्ष माघ दोस्रो सातामै सकिने देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीले बताउनुभयो । जिल्लाका गोलन्जोर तथा सुनकोसीसहित तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही वडा र अन्य स्थानमा गरी झन्डै आठ हजार किसानले व्यवसायिक जुनार खेती गरेका छन ।।


