- Loading...
बिसनपुरका किसानहरु केमोमाईल खेतीतर्फ अग्रसर हुँदै
- कृषि टि.भी.
- ३ साल अघि
- ३३ पटक पढिएको

वर्षौदेखि निर्वाहमुखी खेतीमा सीमित कैलालीको कैलारी गाउँपालिका–५ बिसनपुरका किसानहरु केमोमाईल खेतीतर्फ अग्रसर हुँदै गएका छन् । अन्य बालीभन्दा उक्त खेतीबाट आम्दानी बढी हुन थालेपछि स्थानीय किसान सोही खेतीतर्फ आकर्षित हुँदै गएका हुन । सुगन्धित जडिबुटी तेलको रुपमा परिचित केमोमाइल खेतीले स्थानीयको आम्दानीमा समेत बृद्धि भएको छ । गाउँमा पहिलो पटक २०७१ सालमा गहुँ बाली छाडेर १० कठ्ठा क्षेत्रफलमा केमोमाइल खेतीको शुरूवात गरेका स्थानीय मानबहादुर चौधरीले अहिले डेढ विघाहा क्षेत्रफलमा सोही खेती गरिरहनुभएको छ । गहँु, तोरी, मसुरोभन्दा राम्रो फाईदा हुने भएपछि उक्त खेतीतर्फ लागेको किसान चौधरीको भनाई छ । पछिल्लो समय धान, गहुँलगायतका बाली छाडा पशुचौपायाले नष्ट गर्न थालेपछि बैकल्पिक खेतीमा किसानको आकर्षण बढेको हो । केमोमाइल बाली पशुचौपायाले नखाने, अन्य बालीको तुलनामा ४–५ गुणा बढी आम्दानी हुने भएपछि किसानको आकर्षण बढेको स्थानीयको भनाई छ । गतवर्ष १० कठ्ठा जमिनमा गरेको केमोमाइल खेतीबाट उत्पादित तेल र बिउ बिक्रीबाट सबै खर्च कटाएर ५० हजार रुपैया बचाएको किसान चौधरीले बताउनुभयो ।
बिगत ५ वर्षदेखि सोही खेती गर्दै आईरहनु भएकोमा अहिले गाउँका अघिकांस घरधुरी गरी १५ विघा बढी क्षेत्रफलमा खेती गरिरहेको स्थानीय भागीराम चौधरीले बताउँनुभयो । खाद्यान्न, दलहन तथा अन्य तेलहन वालीभन्दा उक्त खेतीमा राम्रो फाईदा देखेपछि आफूले पनि सोही खेती गर्न थालेको किसान चौधरीको भनाई छ ।
यसअघि उत्पादित केमोमाईल प्रशोधनका लागि अन्यत्र ठाँउमा जानुपर्ने बाध्यता थियो । तर अहिले गाउँमा सुगन्धित तेल प्रशोधन केन्द्र स्थापना भएपछि किसानहरुले राहत महसुस गरेका छन् । इन्साफले गाउँमा १० लाखको लागतमा तेल प्रशोधन केन्द्र र साढे ९ लाखको लागतमा सिचाइँको लागि सौर्य वाटर पम्प जडानको कार्य गरिरहेको छ । इन्साफले कैलाली र कञ्चनपुर जिल्लाको विभिन्न क्षेत्रमा केमोमाइल प्रशोधनको लागि लगानी गर्दै आएको छ । केमोमाइलको फूल प्रशोधन गरी सुगन्धित प्राप्त तेल सौन्दर्य सामाग्री बनाउन प्रयोग गरिदै आएको छ । जसको बजार माग र मूल्य राम्रो भएकाले किसानको खेतीप्रति आकर्षण बढ्दो छ । उक्त खेतीबाट प्रति विघा जमिनमा ४ देखि ७ लिटर तेल उत्पादन गर्न सकिन्छ भने तेलको बजार मूल्य प्रतिलिटर ५५ हजारदेखि ७० हजारसम्म पर्ने गरेको छ ।।


