- Loading...
पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिलाई तरुल खाने सङ्क्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने प्रचलन छ । यसवर्ष भने पाल्पा जिल्लाबाट मात्रै ३ सय ५० क्वीन्टल तरुल निर्यात भएको छ । जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी उक्त परिमाणको तरुल निर्यात भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ठूलो परिमाणमा तरुल बाहिरी बजारमा निर्यात गर्न कृषक सफल भएका छन् । रैथाने बाली अन्र्तगत पर्ने तरुल खेतीलाई किसानले व्यवसायिक रुपमा अझ अङ्गालेको भने पाइदैन । पाखो पखेरा बारीमा तरुल लगाएर स्थानीयले राम्रो आम्दानी गर्ने सम्भावना रहेकाले त्यहाँको भौगोलिक भूबनोट अनुरुप उत्पादन अझ वृद्धि हुने ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार रैथाने बाली अन्र्तगत पर्ने तरुल, कोदो, सखरखण्ड, फापर र बोडा लगायतका बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा रहेकाले निस्दी गाउँपालिकाबाट यसवर्ष करिव दुई सय क्वीन्टल तरुल काठमाडौँ र बुटवललगायतका बजारमा निर्यात भएको कृषि शाखाका प्राविधिक सहायक खिमराज कोइरालाले बताउनुभयो । यसवर्ष तरुलको उत्पादन राम्रो भएकाले किसानले बाहिरी बजारमा निर्यातमा तीव्रता दिएका छन । तरुल विक्री वितरणबाट उनीहरुको आम्दानीमा बृद्धि भएको पाइएको छ । निस्दीको मित्याल, झिरुवास, अर्चलेको रनगुवा र गल्धा लगायतका स्थानमा तरुलको उत्पादन राम्रो भएको छ । मित्यालका किसान सन्तवीर सुनारीले माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ३० हजार भन्दा बढीको तरुल बिक्री गर्नुभएको छ ।।


