- Loading...
खोटाङको स्थानीय तहले कागती खेतीमा लगानी
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रका रुपमा विकास गर्न पहल थालेको छ । कागती उत्पादन गरेर किसानलाई आर्थिक रुपमा सवल बनाउन गाउँपालिकाले वडा न.८ को सिमपानी, ९ को लिच्कीराम्चे, ४ को बड्कादियाले र वडा न.७ को खोटाङ बजारलाई पकेट क्षेत्रका रुपमा विकास गर्न कार्यक्रम सुरु गरेको हो । सिमपानी र लिच्कीराम्चेका २५–२५ किसान आवद्ध दुई वटा किसान समूहलाई समेटेर एउटा पकेट क्षेत्र तथा खोटाङ बजार र बड्का दियालेका दुई वटा कृषक समूहलाई समेटेर कागतीको अर्को पकेट क्षेत्र बनाउने गरी काम थालिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो । कागतीको व्यवसायिक खेतीका लागि आर्थिक वर्ष ०७५÷०७६ मा दुई वटा पकेट क्षेत्रलाई प्रति पकेट क्षेत्र एक लाख ९० हजारका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । अनुदान पाएका पकेट क्षेत्रका किसानले अहिले कागतीको बेर्ना उत्पादनको काम गरिरहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभएको छ । गाउँपालिकाको नौ वडामध्ये कागती उत्पादन हुने स्थान र सम्भावनालाई ध्यानमा राखेर पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बताइएको छ । यस्तै खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीलाई पनि कागतीको पकेट क्षेत्रका रुपमा विकास गर्न चालु आर्थिक वर्षमै तीन लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न यसै वर्ष दुई लाख बजेट व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ ।।


