- Loading...
बाजुरा क्षेत्रको सडक किनारामा नगदेबालीको विकास
- कृषि टि.भी.
- ३ साल अघि
- ३५ पटक पढिएको

कृषि ज्ञान केन्द्र बाजुराले सडक छेउछाउको जमिन विविध कृषि उत्पादनको लागि प्रयोग गर्ने भएको छ । सडक सुरक्षा, जमिनको उपयोग र कृषि उत्पादनका लागि उक्त जमिनलाई प्रयोग गर्ने नीतिसहित केन्द्रले योजना अघि सारेको हो । पहिलो चरणमा जिल्लाको इकडी गाडदेखि मार्तडीसम्मको ४० किलोमिटर जमिन उपयोग गरिने कृषि प्रचार अधिकृत मीनप्रसाद जैसीले जानकारी दिनुभयो । उर्बर र मलिलो जमिन क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचान गरी केरा र उखु खेती गर्ने गरी काम शुरु गरिएको अधिकृत जैसीले जानकारी दिनुभयो । उक्त कार्यक्रमबाट जमिन सुरक्षित हुने र हरियाली पनि देखिने बताइएको छ । साथै बोटबिरुवा भएको स्थानमा पहिरोको जोखिम कम हुने हुँदा बहुउपयोगको नीति लिइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । स्याउदेखि, सिमीसम्म, आलुदेखि कोदोसम्मको बजार जिल्ला बाहिर विस्तार गर्न सफल ज्ञान केन्द्रले फेरि नयाँ योजना अघि सारेको हो । सडक नजिकै बस्ने स्थानीय वासीसँगको सहकार्यमा खेती गरिने बताइएको छ । स्थानीय कृषक समूह, कृषि सहकारी तथा गाउँ टोललाई साथमा लिएर उत्पादनमुखी र किसानलाई प्रत्यक्ष आयमूलक गतिविधि समेट्ने योजनासहित काम थालिएको कार्यालय प्रमुख गोविन्द सिजापतिले बताउनुभयो । उखु र केराजस्ता नगदेबाली उत्पादन गरी बिक्रीवितरण गर्न बजारको समस्या नहुने ज्ञान केन्द्रको दावी छ । साँफे–मार्तडी सडकअन्तर्गत बाजुरा क्षेत्रका सडक दाँयाबाँया प्रायः सुक्खा अनि पहिरो जाने क्षेत्र बढी छ । त्यसको व्यवस्थापन र कृषि क्षेत्रको आकर्षणका लागि केन्द्रले शुरु गरेको अभ्यास सकारात्मक रहेको कृषि क्षेत्रका अगुवाको भनाइ छ । यस्ता गतिविधिले अन्य किसानलाई पनि पाठ सिकाउने विश्वास गरिएको छ ।।


