- Loading...
ऐन संशोधन गर्न प्रमुख दुई दलबीच सहमति
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोगको ऐन संशोधन गर्न प्रमुख दुई दलबीच सहमति भएको छ । ऐन संशोधन लागयतको विषयमा टुंगोमा पुग्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएको हो । ऐन संशोधनलाई कानुन मन्त्रालयबाट अघि बढाएर चाँडै संसदमा पेश गर्ने र सिफारिस समितिले सिफारिस गरेका नाम स्वीकृत गर्ने सहमति दुई दलबीच भएको छ । हिँउदे अधिवेशनमै पारित गर्ने गरी ऐन संशोधनको प्रकृया अघि बढ्ने नेकपाले जनाएको छ । त्यस्तै सिफारिस समितिले सिफारिस गरेका नाम स्वीकृत गरेर शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउन प्राथमिकता दिने सहमति पनि दुई दलबीच भएको छ । गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्न पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वसभामुख तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङ, नेकपा केन्द्रीय सदस्य खिमलाल देवकोटा, कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनु भएको थियो ।।


