- Loading...
मसानघाटको प्लटिङमा अख्तियारको छानबिन
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

बाराको सिमरा ४स्थित मसानघाट प्लटिङबारेको समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि अख्तियारको टोलीले छानविन र अनुसन्धान सुरु गरेको छ । मसानघाटको सार्वजनिक जग्गा किर्ते कागज बनाई भू–माफिया तथा केही जग्गा कारोबारीले भोगचलन गरेको पाइएपछि अख्तियारको टोलीले सम्बन्धित निकाय र स्थलगत अनुसन्धान सुरु गरेको हो । साविक पिपरासिमरा गाविस हाल जितपुरसिमरा उप–महानगरपालिका–४ को कित्ता नं ५९ को मसानघाटको ६ विघा ८ कठ्ठा सार्वजनिक जग्गा किर्ते तथा जालसाजी गरेको पाइएको छ । उक्त विषयमा चौतफी रुपमा दबाब बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सार्वजनिक र गुठी जग्गा संरक्षण आयोग, जिल्ला प्रशासन कार्यालय बारा, जीतपुरसिमरा उप–महानगरपालिका र सम्बन्धित वडाले मसानघाटको सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता कायम भएकोबारे खोजबिन तिब्र बनाएपछि प्रोपटी म्यानेजमेन्ट लगायतका व्यक्ति अनुसन्धानको दायरामा आउने भएको छ । अख्तियारको हेटौँडा शाखाबाट खटिएको टोलीले मालपोत र नापी कार्यालय सिमराबाट उक्त जग्गासँग सम्बन्धित आवश्यक कागजपत्रसहित मसानघाटको स्थलगत अनुगमन गरेको छ । आयोगले जग्गाको प्रारम्भिक अनुसन्धानको क्रममा रहेको र २०२१ सालको नापीमा मसानघाट भनी उल्लेख भएको बताएको छ । तर जग्गा व्यक्तिको नाममा श्रेस्ता कायम गरेकोबारे आयोगले खोजबिन तिब्र बनाउने जनाएको छ । मसानघाटको स्थलगत अनुगमनमा आएका अख्तियारका एक अधिकारीले मसानघाटको उक्त सार्वजनिक जग्गा २०४७ साल साउन ३० गते रामचन्द्र गौतमले जालशाजी गरेर फरदवा गुठीको माध्यमबाट आफ्नो नाममा पुर्जा बनाएको अनुसन्धानको क्रममा भेटिएको र हालसम्म उक्त जग्गामा प्रोपटी म्यानेजमेन्टका सञ्चालक इच्छाबहादुर वाग्लेसहित ६४ जनाको सहभागिता देखिएको बताइएको छ ।।


