- Loading...
कैलालीको छोटी भन्सारमा छैन क्वारेन्टाइन
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

कैलालीको दक्षिणी सीमावर्ती क्षेत्र खक्रौलामा रहेको सत्ती छोटी भन्सार कार्यालय मुल भन्सार बनेको डेढ वर्ष बित्नै लाग्दा समेत वनस्तपति, पशु क्यारेन्टाइन तथा खाद्य प्रयोगशाला नहुँदा व्यवसायी मर्कामा परेका छन् । सत्ती भन्सारमा वनस्पति, पशु क्यारेन्टाइन र खाद्य प्रयोगशाला नहुँदा व्यवसायीलाई धनगढीको त्रिनगर भन्सारबाट क्यारेन्टाइन जाँच गर्नुपर्ने बाध्यता छ । भन्सारबाट आयात निर्यात हुने फलफूल, तरकारीजन्य सामाग्री, पशुपंक्षीका लागि पशु क्वारेन्टाइन र खाद्य सामाग्री चेकजाँचका लागि खाद्य प्रयोगशाला स्थापनाको पहल भइरहेको भएपनि सुनुवाइ नभएको सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले बताउनुभएको छ । सत्ती भन्सारबाट सामान ल्याउन व्यवसायी तयार भएपनि प्रयोगशाला नहुँदा व्यवसायीलाई क्वारेन्टाइन जाँचको कागज बनाउन धनगढी जानुपर्ने बाध्यता छ । भन्सार स्तरोन्नति भएपनि पूर्णरुपमा सञ्चालनमा आउन समेत प्रयोगशालाको समस्या छ । उक्त भन्सार कार्यालयले यस आर्थिक वर्षको साउन यता ३ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । क्वारेन्टाइन नहुँदा व्यावसायीले अन्यत्र जानुपर्ने बाध्यताले समेत लक्ष्यमा असर गरेको बताइएको छ । भन्सारमा भारतबाट लत्ता कपडा, हार्डवयर र मेसिनरी सामानका पार्टलगायतमा वस्तु आयात हुने गरेका छन् । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले आफूहरूले सोचे जस्तो ठूला सामान ल्याउन सकिने अवस्था नरहेको बताउनुभएको छ । भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि मन्त्रालयमा पहल भइरहेको छ भने भारततर्फ बाटो बनाउने कुरामा भारतीय पक्षसित छलफल चलिरहेको छ । भारतका मुख्य व्यापारिक केन्द्र दिल्ली, लखनउ, कानपुरबाट निकै नजिकको दूरीमा रहेको सत्ती भन्सार कार्यालयबाट सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लामा सामान आयात हुने गरेको छ ।।


