- Loading...
झापाका किसान मकै खेतीमा आकर्षित
- कृषि टि.भी.
- ३ साल अघि
- ३१ पटक पढिएको

मकैबाट राम्रो आम्दानी हुन थालेपछि झापाका किसानले हाइब्रिड मकैको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको झापा गाउँपालिका १ देखि ६ नम्बर वडाका ८० प्रतिशत किसानले व्यावसायिक मकै खेती गर्दै आएका र्छन् । अन्य नगदेबाली तोरी तथा गहुँको तुलनामा मकैबाट दोब्बर नाफा हुने हुदाँ मकै खेतीप्रति स्थानीयको आकर्षण बढ्दै गएको हो । झापा गाउँपालिका –३ का देवकुमार गणेशले १ हेक्टर क्षेत्रफलमा हाब्रिड मकै लगाउनु भएको छ । उहालाई मकै खेतीबाट वार्षिक १ लाख ५० हजार रुपैयाँ नाफा हुने गरेको बताउनुभएको छ । मकैको बजारीकरणका लागि कुनै पनि समस्या नभएको पनि उहाले जानकारी दिनुभयो । मकै उत्पादनका लागि कम लागत र कम श्रम लाग्ने गरेको स्थानीयको भनाई छ । जिल्लामा दाना उद्योग खुल्ने क्रम बढ्दै गएपछि मकैको माग र खपत पनि वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षदेखि झापामा मकै जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित उक्त जोन झापा गाउँपालिका र कनकाई नगरपालिकामा सञ्चालनमा ल्याइएको हो । मकै जोन सञ्चालनका लागि यसवर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो । झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकले देखाएको छ ।।


