
- Loading...
अत्यावश्यक वस्तुको कुनै अभाव नभएको, अनावश्यक भण्डारण नगर्न सरकारको आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- १० पटक पढिएको

सरकारले अत्यावश्यक वस्तुको कुनै अभाव नभएको भन्दै खाद्यान्न तथा औषधी लगायतका वस्तुहरुको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको एक कार्यक्रममा अहिले कुनै पनि बस्तुको अभाव नरहेको भन्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको हो । सरकारले गठन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निजी क्षेत्र लगायत सरोकारवाला निकायसंग छलफल गर्दै आपूर्ति व्यवस्था सहज बनाउन सरकार लागिपरेका बताएको छ । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिए पनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न समितिले विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको छ । मंगलबार भएको बैठकमा ६ महिनालाई पुग्ने खाद्यान्न, ३ महिनालाई पुग्ने इन्धन र ४ महिनालाई पुग्ने औषधि रहेको जानकारी गराइएको थियो । सोही बैठकमा नीजि क्षेत्रमा प्रतिनिधिहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका थिए । त्यस्तै औषधी व्यवसायीहरुले पनि प्रयाप्त औषधी रहेको भन्दै कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकपछि सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ सहित सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले औषधि पनि ३–४ महिनालाई पुग्ने मौज्दात रहेको बताउनुभयो । भारत तर्फबाट हुने व्यापारमा केही अवरोध नरहेको र अधिक स्टक गर्न आवश्यक नरहेको उहाले जानकारी दिनुभयो । उक्त छलफलमा उद्योगी व्यवसायीहरुले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन दिन माग समेत गरेको मन्त्री खतिवडाले बताउनुभयो । बैठकमा अर्थमन्त्री खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको सहभागिता रहेको थियो । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए ।।


