- Loading...
झापाका ३ पालिकामा मत्स्य ब्लकको घोषणा, माछामा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गौरादह नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाको क्षेत्रलाई व्यावसायिक मत्स्यपालन ब्लक तोकिएको छ । मत्स्य विकास शाखाको सहयोगमा ब्लग सञ्चालन गरिएको हो । ब्लक सञ्चालनका लागि शाखाले प्रत्येक पालिकालाई ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनाका अनुसार ब्लक तोक्नका लागि ६० हेक्टर क्षेत्रफल आवश्यक छ । मत्स्य ब्लक कार्यक्रम अन्तरगत नयाँ पोखरी निर्माण, पुरानो पोखरीे मर्मत सुधार, मत्स्य यान्त्रिकीकरण, माछाको भुरा र दाना उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्ता ब्लक कार्यक्रम तोकिएका पालिकाबाट विभिन्न फार्मले प्रस्ताव पेस गरेको मत्स्य विकास शाखा अधिकृत प्रदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । हल्दिबारी गाउँपालिबाट ३८, कचनकवल गाउँपालिकाबाट १३ र गौरादह नगरपालिकाबाट १६ वटा फार्मले कार्यक्रमका लागि प्रस्ताव पेस गरेका छन् । शाखा अधिकृत श्रेष्ठका अनुसार प्रस्ताव आउने क्रम अझै जारी छ । सोही शाखाले इलामको चुलाचुलीलाई समेत माछा पकेट क्षेत्र तोकेको छ । चुलाचुलीमा ६ हेक्टर क्षेत्रफल निर्धारण गरिएको माछा पकेटका लागि १५ लाख बजेट बिनियोजन गरिएको छ । पछिल्लो समय जिल्लामा मत्स्य ब्लक कार्यक्रम शुरु भएसँगै नयाँ पोखरी विस्तार हुने क्रम बढेको छ । चालू आर्थिक वर्षमा झापा र इलाममा २० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी विस्तार गर्ने सरकारको योजना छ ।।


