- Loading...
मुआब्जा विवादले सिंचाई आयोजना अलपत्र, २४ महिनामा ३० प्रतिशत काम सम्पन्न
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

३ वर्षभित्र मुल नहर निर्माण सक्ने गरी तीन वटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणको काम मुआब्जा विवादमै रुमलिएको छ । निर्माण सम्झौता भएको चौबीस महिना बितिसक्दा पनि आयोजनाको ऐलानी जग्गाको मुआब्जा विवाद, वनमा नहर निर्माणका लागि गर्नुपर्ने प्रक्रियामा ढिलाइका कारण नहर निर्माणले गति लिन नसकेको हो । महाकाली सिँचाई आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टका अनुसार ऐलानी जग्गा मुआब्जा विवाद समाधानका विषयमा प्रक्रियागत रुपमा अघि बढेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले उपसमिति गठन गरेर स्थलगत प्रतिवेदन लिइसकेको बताउँदै निर्देशक विष्टले चाँडै मुआब्जाको विषय टुङ्गो लाग्ने दाबी गर्नुभएको छ । कूल १५ किलोमिटर मुल नहर निर्माणका लागि दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो । यसवर्ष गरिने कार्यक्रमध्ये ३५ करोड रकमका निर्माण कार्य सकिएको छ । निर्देशक विष्टका अनुसार मुआब्जाका लागि बिनियोजित रकममध्ये पाँच करोड रकम अझै बाँकी रहेको छ । सिंचाइ आयोजनाले बितेको २४ महिनामा करिब ३० प्रतिशत मात्र काम सकेको जानकारी दिएको छ । तर चालू आर्थिक वर्षमा सिँचाइको नहर निर्माणका लागि रकम अभाव रहेको आयोजनाले जनाएको छ ।।


