- Loading...
इलाममा पहिलो चिया परीक्षण केन्द्र बन्ने तयारी, केन्द्र सञ्चालनको कार्यविधिमा अलमल
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

चियाको राजधानी इलामको सर्योदय नगरपालिकामा देशमै पहिलो चिया परीक्षण तथा प्रबर्द्धन केन्द्र निर्माण गरिने भएको छ । २३ करोड रुपैयाँ लगानीमा बन्ने केन्द्र निर्माणका लागि सूर्याेदय नगरपालिका र प्रदेश १ सरकारबीच सम्झौतासमेत भइ सकेको छ । जिल्लाको सूर्याेदय ७ स्थित कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माणतर्फ १८ करोड र उपकरण तथा फर्नि्सिङ खरिदमा पाँच करोड हाराहारी रकम खर्च हुने भएको छ । आयोजनाका लागि प्रदेश सरकारले १७ करोडभन्दा बढी र नगरपालिकाले बाँकी रकम खर्चिने भएका छन । चालू आर्थिक वर्ष ०७६÷०७७ भित्रै काम सुरु गर्न प्रदेश सरकारले नगरलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको नगरले जनाएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विमलकुमार निर्मल र सूर्याेदयका मेयर रणबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । बाँकी रकम आगामी वर्ष प्रदेश सरकारले प्रदान गर्दै जाने पनि सम्झौता भएको मेयर राईले जानकारी दिनुभयो । तर भवन निर्माण पछि मात्र केन्द्र सञ्चालनको कार्य्विधि बनाउने नगरले बताएको छ । नगर र प्रदेश सरकारको संयुक्त लगानी भएपनि केन्द्र सञ्चालनको जिम्मा नगरकै हुने बताइएको छ । पाँच दर्जन हाराहारी चिया प्रशोधन उद्योग रहेको भएपनि जिल्लामा चिया परीक्षण केन्द्र नभएको अधिकारीहरुले बताएका छन ।।


