
- Loading...
अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर,सुर्खेतका मालपोत कार्यालय अझै भाडामा
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

सुर्खेतको स्थानीय प्रशासनले सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मालपोत कार्यालयको स्वामित्वमा रहेको जमिनमा बनाइएका ४० वटा घर–टहरामा बुधबार डोजर चलाएको छ । खारखोलीमा रहेको मालपोतको दुई बिघा तीन कट्ठा जमिन २० वर्षदेखि ७४ परिवारले कब्जा गरेर बस्दै आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले सरकारी जमिन अतिक्रमण गरेर बसेकालाई हटाउने अभियान सुरु गरिएको जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनसार जिल्लाका अधिकांश ठाउँमा विभिन्न व्यक्तिले सरकारी जमिन कब्जा गरेर घरटहरा निर्माण गरेका छन । अहिले मालपोत कार्यालयको जमिन खाली गराएर अतिक्रमण हटाउने अभियान सुरु गरेको बताइएको छ । मालपोत कार्यालय अहिले पनि नगर विकास समितिको भवन भाडामा लिएर सञ्चालन हुँदै आएको छ । व्यक्तिले कब्जा गरेर घरटहरा निर्माण गरेपछि मालपोत कार्यालयले भवन बनाउन नसकेको जनाएको छ । यता २० वर्ष अघिदेखि अतिक्रमणको चपेटामा परेको मालपोतको जमिन खाली गराएसँगै प्रशासनले वीरेन्द्रनगर स्थित मंगलगढीदेखि चाइना पुलसम्मको आठ कट्ठा सात धुर जमिनमा बनेका संरचना हटाउने बताएको छ । उक्त जमिन २०३६ सालमा सडक विभागले सुर्खेत–जुम्ला सडकको ट्र्याक खोल्न स्थानीय लीलबहादुर भण्डारीलाई २९ हजार रुपैयाँ मुआब्जा दिएर १६ कट्ठा साढे १३ धुर जमिन अधिग्रहण गरेको थियो ।।


