- Loading...
जिटुजी प्रकृया रद्द गरी खुला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

संसदीय समितिले सुरक्षण मुद्रण सम्बन्धी जिटुजी प्रकृया रद्द गरी खुला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिले सरकारले त्यसलाई ग्लोबल टेण्डरमार्फत् अगाडि बढाउन निर्देशन दिएको हो । सिंहदरबारमा बसेको समितिको बैठकले जिटुजी मोडलमार्फत् गर्न लागेको सुरक्षण मुद्रण खरिद प्रकृया रोक्न निर्देशन दिएको हो । उक्त बैठकले सेक्युरिटी प्रेस स्थापना सम्बन्धमा भएको आर्थिक अनियमितताबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । बैठकले समग्र जिटुजी प्रकृयाको उपयोगिता र आवश्यकताबारे मुख्य सचिव तथा विभिन्न मन्त्रालयका अन्य सचिवहरुसँग छलफल गर्ने र जिटुजी प्रकृयामार्फत् हुने खरिद मोडललाई पुनव्र्याख्या गर्ने निर्णय गरेको छ । त्यस्तै खरिद प्रकृयाको लागत अनुमान तयार पार्ने प्रकृया सम्बन्धी अध्ययन र छलफल निर्णय पनि गरिएको समिति सभापति भरत शाहले जानकारी दिनुभयो । बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका थिए । सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटूजी’ प्रकृया नै गलत भन्दै उक्त बाटोबाट खरिद नगर्न पनि सुझाव दिएका छन् । प्रेस खरिद प्रकरणमा तत्कालीन मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपाल दलाल विजय मिश्रसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिनुभएको थियो ।।


