- Loading...
कैलाली जिल्ला व्यवसायीक माछापाललनको हबको रुपमा विकास हुँदै
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

पछिल्लो समय कैलाली जिल्ला व्यवसायीक माछापाललनको हबको रुपमा विकास हुँदै गएको छ । जिल्लाको प्राकृतिक तालतलैया तथा कृत्रिम पोखरीमा व्यवसायीक माछापालन फष्टाउँदै गएको छ । जिल्लामा रहेका त्यस्ता दुई सय बढी प्राकृतिक तालतलैया र संयौं संख्यामा रहेका कृत्रिम पोखरीहरुमा व्यावसायिक माछापालन हुदै आएको छ । कैलालीको कैलारी गाउँपालिकामा रहेको ८५ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलहुवा तालमा करिब एक दशकदेखि माछापालन गर्दै आउनुभएका कृष्ण गिरीले स्थानीय उत्पादनले करिब ३० प्रतिशत मात्रै माग धानिरहेको बताउँनुभयो । बाँकी आयातित माछाले बजार माग पूर्ति गरिरहेको किसान गिरीको भनाई छ । माछा व्यवसायी गिरीले लगातारको हिउँदे झरीले तालमा बढेको पानीको स्तरले माछा निकाल्न समस्या भएको बताउँदै साउन यता चार सय क्वीन्टल बढी माछा बिक्रि गरिसक्नुभएको छ । जिल्लामा माछाको बजार माग उच्च भएसँगै अनुसार आपूर्ति गर्न हम्मेहम्मे भएको माछापालक किसान पुरीले बताउनुभएको छ । माछापालन व्यवसायमा यूवा पिढीको आकर्कषण पनि बढ्दै गएको छ । यूवाहरु व्यावसायिक माछापालनलाई नै आफ्नो प्रमुख लक्ष्य बनाएर व्यवसाय थालेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका २२ वर्षिय बिनोद चौधरीले डेढ वर्षदेखि व्यावसायिक माछापालन गरिरहनु भएको छ । नयाँ सोचका साथ उक्त व्यवसायलाई अँगालेका चौधरीले दुई बिगाह क्षेत्रफलमा माछापालन गरिरहेको बताउनु भएको छ । घोडाघोडी नगरपालिका—१०, पहलमानपुरका सन्तोष चौधरी पनि सोही व्यवसायप्रति उत्साहित हुनुभएको छ । एक वर्ष अघिदेखि माछापालन व्यवसायमा लाग्नुभएका चौधरी विदेशको कमाइ स्वदेशमै गर्न सकिने सम्भावनाको क्षेत्र माछापालन व्यवसाय भएको उहाको भनाई छ । सुदूरपश्चिम प्रदेशमा माछाको भूरा उत्पादनको क्रम पनि उत्साहजनक छ । सुदूरपश्चिम प्रदेशसहित प्रदेश नम्बर ५ को बाँके र बर्दिया जिल्लामा पनि माछाको भूरा आपूर्ति गर्दै आएको मत्स्य विकास केन्द्र गेटा कैलालीले वर्षेनी लक्ष्यभन्दा बढी माछाको भूरा उत्पादन गर्दै आएको मत्स्य विकास केन्द्र गेटा कैलालीको प्राविधिक सहायक गणेश धामीले बताउनुभएको छ । मत्य विकास केन्द्र गेटामा कमन, ग्रास, सिल्भर, बिगहेड, नैनी, भ्याकुर, रहु गरी ७ वटा कार्प जातको माछाको भूरा उत्पादन गर्दै आएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७५÷२०७६ मा हयाचलिङ अर्थात ७ दिनको माछाको भूरा एक करोड ४० लाख उत्पादनको लक्ष्य बनाए पनि दुई करोड ४० लाख उत्पादन गरेको गरेको छ । यस्तै एक महिनासम्मको माछाको भूरा २० लाख उत्पादनको लक्ष्य भएपनि २२ लाख र फिन्गर अर्थात दुई देखि तीन महिनाको माछाको भूरा २५ लाख उत्पादन लक्ष्य भएपनि ३४ लाख उत्पादन भएको प्राविधिक सहायक धामीले बताउँनुभयो । चालु आर्थिक वर्षमा मत्स्य केन्द्रले हयाचलिङ २ करोड ५० लाख, फ्राई २० लाख र फिन्गर ३० लाख उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ ।


