- Loading...
ओखलढुङ्गामा मौरीलाई चरन क्षेत्रको अभाव, जिल्लामा तोरी खेतीबाट किसान विस्थापित
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

पछिल्लो समय ओखलढुङ्गामा मौरीको चरन क्षेत्र अभाव हुन थालेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा तोरीखेती हुन छाडेपछि चरन क्षेत्रमा समस्या भएको हो । परम्परागत रुपमा मौरी पालेका जिल्लाभरका किसान मौरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् । फागुन–चैत महिनामा गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भएपनि केही वर्षयता तोरीखेती गर्ने क्रम घटेको छ । किसानले तोरी लगाउन छाडेपछि मौरीपालक किसान समस्यामा परेका हुन् । तोरी खेतीमा झन्झट तथा उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेसामा जनशक्तिको कमी लगायतका कारण परम्परागत खेती प्रणाली स्थानीयले छाड्दै गएका छन् । जिल्लाका बेँसी फाँटहरूमा हरेक हिउँदमा तोरी फुल्ने समयमा अहिले खेत बाझै रहेका छन । वनजङ्गल पनि मासिँदो अवस्थामा भएकाले मौरीको चरन क्षेत्र अभाव भएको लिखु गाउँपालिका–६ का किसान सरोज खत्रीले बताउनुभयो । तोरीको फूलको रसबाट यस सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भएपनि तोरीको उत्पादन घटेसँगै मौरीको चरन अभाव हुँदै गएको हो । पाँच–छ वर्षयता हिउँदका पाँच महिना मौरीलाई चरनको अभाव हुने गरेको खिजीदेम्बा गाउँपालिका–२ रङ्गनीका मौरीपालक किसान लालबहादुर खड्काले बताउनुभयो । पछिल्लो समय रासायनिक विषादी प्रयोग, जमिन बाँझो राख्ने लगायतका कारण मौरीलाई गम्भीर असर परेको कृषि प्राविधिकहरूको भनाइ छ ।।


