- Loading...
नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

सरकारले कोरोना भाइरसबाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ जनाको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । तर नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभाको आइतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको बताउनुभयो । सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहको सरकारसँग प्रभावकारी रुपमा समन्वय गरि सक्रमण फैलन नदिने विशेष सतर्कता अपनाएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुनुभन्दा अघि गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री सम्मिलित अधिकार सम्पन्न समिति गठन गरेको छ । उहाँले उक्त समितिको एक दिन बिराएर बैठक बसी कोरोनाको सङ्क्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताका साथ काम अघि बढाइएको सदनलाई जानकारी दिनुभयो । स्वास्थ्यमन्त्रीले छोटो समयका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र विदेशमा काम गर्न जाने श्रमिकको श्रम स्वीकृति पनि बन्द गरिएको बताउनुभयो । काठमाडौँमा करीब १७० सघन कक्ष शय्या रहेकाले काठमाडौँ उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ शय्या थप गर्ने तयारी रहेको उहाले बताउनुभयो । सरकारले यसअघि नै विभिन्न सरकारी अस्पतालमा गरी ११५ आइसोलेसन बेड स्थापना गरिसकेको जानकारी दिँदै स्वास्थ्य मन्त्री ढकालले थप जोखिमलाई ध्यानमा राखी औषधि र औजारसमेत जोहो गर्न लागि सकिएको बताउनुभयो । चीनपछि अमेरिका र युरोपमा फैलिएको उक्त भाइरसबाट भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले विशेष सावधानी अपनाउनु पर्नेमा सरकारले जोड दिएको जानकारी दिनुभयो ।।


