- Loading...
कोरोना संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइएको पुष्टि
- कृषि टि.भी.
- ३ साल अघि
- ३७ पटक पढिएको

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमण हुन नदिन सबै किसिमका रोकथामका उपाय अपनाइ सकिएको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । देशभरका अस्पतालमा निमोनियाका विरामीको सूची तयार गरी परीक्षण समेत भइरहेको डा.पाण्डेले बताउनुभएको छ । उहाले विज्ञहरुको सल्लाहमा रोकथामको उपाय र भविष्यमा कथंकदाचित् चुनौती आएमा सबै किसिमका तयारी भइसकेको बताउनुभयो । बजारमा मास्कको अभावलाई दृष्टिगत गरी आवश्यकत्तानुसार उपलब्ध गराउन मास्कको काम फास्ट ट्रयाकमा भइरहेको उहाले बताउनुभयो । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले एक जना बाहेक नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको बताउनुभयो । डा.झाले आशंकित विरामी सबैको परीक्षण भइसक्दा पनि देशमा कोरोना भाइरसको संक्रमित नभएको बताउनुभयो । रोगको सम्भावित लक्षण देखिएका विरामीहरु मध्येबाट दैनिक जसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको उहाले जानकारी दिनुभयो । वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा.सुन्दरमणि दिक्षितले आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको दावी गर्नुभयो । उहाले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउन पनि सरकारलाई सल्लाह दिनुभयो ।।


