- Loading...
बागमती प्रदेशले दूध उत्पादकलाई प्रोत्साहन, यसवर्ष झण्डै ७ करोड अनुदानको व्यवस्था
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित प्रोत्साहन अनुदान रकमवापत ६ करोड ७४ लाख ७३ हजार रुपैयाँ वितरण गर्ने भएको छ । सोही रकम दूध उत्पादन र बजारीकरण गर्ने सहकारी संस्थामा आवद्ध किसानलाई उपलब्ध गराउने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आह्वान गरेअनुसार छानिएका दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई उक्त रकम दिन लागेको हो । किसानले उत्पादन गरेको दुध सहकारीलाई दिएवापत उक्त रकम उपलब्ध गराउने व्यवस्था छ । दुई वर्ष अघिसम्म संघीय पशुसेवा विभागमार्फत वितरण हुने प्रतिलिटरमा एक रुपैयाँ अनुदानलाई अघिल्लो आर्थिक वर्षबाट प्रदेश मन्त्रालयले प्रदान गर्न थालेको हो । प्रदेशभित्रका आठ भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत १३ वटै जिल्लाका दुग्ध सहकारी संस्थाबाट निवेदन माग गरिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १२ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । सोही अनुसार निर्देशनालयले पनि १२ करोड लिटरसम्मलाई एक रुपैयाँ नै अनुदान दिने योजना बनाएको छ । यसवर्ष दूध अनुदानमा सहभागी हुन चाहने सहकारीहरु विगतमा भन्दा बढेको देखिएको छ ।।


