- Loading...
बगानमै रोकियो चियापत्ति
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

झापामा करिब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको फस्ट फल्स टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान गरेको छ । लकडाउनकै कारण बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । चिया उत्पादक किसानका अनुसार मुना टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ ।


मुलुकभर गरिएको लकडाउनकै कारण किसानले ठूलो नोक्सान बेहोर्नुपरेको छ । साधारणतः प्रतिकेजी २० रुपैयाका दरले पनि किसानको यसवर्ष १२ करोड बराबरको क्षति भएको उनीहरुको भनाइ छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । तर पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान नहुने आँकलन गरिएको छ । झापामा मात्रै १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ । यता साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीका अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको छ । पाकेको बाली भित्राउन नसक्दा उनीहरुलाई अझ समस्या थपिएको छ ।

