- Loading...
पाँचथरमा तरकारी आयातमा रोक
- कृषि टि.भी.
- ३ साल अघि
- ३३ पटक पढिएको

कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिस बमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो ।


जिल्ला प्रशासनले स्थानीय स्तरमा तरकारी उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । झापासहित पूर्वी तराईका जिल्लाबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको उहाको भनाई छ । सोही समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने समेत निर्णय गरेको छ । रातको ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्लाका राँके, काबेली, छ नम्बर बुधबारे र माझीटार लगायतका नाकाहरु सिल गर्ने उक्त बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उक्त नाकाहरुमा दिउँसोको समयमा समेत उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ । यता पाँचथरमा अहिले ३१ जना क्वारेन्टाइनमा रहेका छन् । चैत महिना लागेयता जिल्ला बाहिरबाट आएका व्यक्तिलाई समेत अहिले क्वारेन्टाइनमा राखिएको हो । यसअघि १०४ जना क्वारेन्टाइनमा दुई हप्ता बिताई घर फर्किसकेका छन् ।

