- Loading...
तित्तेपातीबाट स्यानिटाइजर उत्पादन
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपातीबाट स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।


तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिनुभयो । उक्त स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार तयार पारिएको उहाले बताउनुभयो । केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ । स्यानिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा किसानलाई निःशुल्क रूपमा वितरणसमेत गरिएको छ । सोही अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा. ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत उपस्थित रहनुभएको थियो ।

