- Loading...
तरकारी तथा फलफूल विषादी जाँचपासमा कडाई
- कृषि टि.भी.
- ३ साल अघि
- २४ पटक पढिएको

गुल्मीमा बाहिरबाट आउने तरकारी, फलफूल, कुखुरा, अन्डा तथा माछामासुलाई विषादी जाँचपास अनिवार्य गरिने भएको छ । कोरोना भाइरसको संक्रमणबाट सतर्कता अपनाउन बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले आयतित तरकारी, फलफूल मासुलगायतमा विषादी जाँचपास अनिवार्य चाहिने निर्णय गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।


बैठकले क्वारेन्टाइन चेकजाँच गरेको प्रमाणपत्र र जिल्लाको अनुमति लिएको आधारमा मात्र प्रवेश दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । किसानलाई खेतीपाती गर्ने कार्यमा सहजीकरण र निरन्तरता दिने, स्वास्थ्य कार्यालयले औषधि आपूर्ति गर्ने, उद्योग वाणिज्य संघले खाद्यान्न आपूर्ति गर्ने, कृषि ज्ञान केन्द्रले मल, बिउ र किटनाशक औषधि व्यवस्थापन गर्ने निर्णय समेत भएको बताइएको छ । प्रत्येक एम्बुलेन्सलाई पार्टेसन गर्ने र अक्सिजन सिलिन्डर अनिवार्य रूपमा राखेर मापदण्ड अनुरूप सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जिल्लाबाहिरबाट आउनेलाई पालिकाको क्वारेन्टाइनमा अनिवार्य राख्ने, विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको ¥यापिड टेस्ट गर्ने र प्रमाणपत्र दिने निर्णय भएको छ । यस्तै बालबालिकालाई दिइने खोप तथा ज्येष्ठ नागरिक उपचार सेवा सञ्चालन गर्ने, अलपत्र परेका मजदुरलाई व्यवस्थापन गर्ने, विपन्न परिवारलाई केन्द्रीय मापदण्ड अनुसार खाद्यान्न राहत उपलब्ध गराउने निर्णय भएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

