
- Loading...
खोटाङमा फेरि फौजी किराको प्रकोप
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । उक्त प्रकोप नियन्त्रणका लागि अहिले विषादि छर्कन थालेको छ । नगरपालिकास्थित खाल्ले र दिक्तेलका विभिन्न स्थानमा लगाइएको मकैमा विषादि हालेर बाली उपचार सुरु गरिएको हो ।


दिक्तेलको नोभे, खाल्लेको बाँसबोटे, खाल्लेसेराको बार्हबिसे लगायतका स्थानमा लगाइएको मकै बालीमा छर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर १ बाट विषादिसहितको विज्ञको टोली पुगेपछि गत सोमबार दिक्तेलको नोभेमा स्थलगत निरीक्षण गरिएको थियो । बिहीबार किरा नियन्त्रण गर्ने विषादिसहित ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादव नेतृत्वको टोली खाल्ले पठाइएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो । किसानको गुनासो भएअनुसार बैसाख ८ गते आवश्यक विषादि जिल्लामा ल्याइएको थियो । निमित्त प्रमुख राईका अनुसार अहिले किसानलाई विषादि वितरणका साथै प्रयोग गर्ने विधि सिकाइएको छ । यसअघि खेतमा देखिएको फौजी किरा बारीका मकैमा सर्ने त्रासमा किसान चिन्तित छन् । विभिन्न स्थानका खेतमा लगाइएको मकैमा किराको प्रकोप फैलिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मकै जोन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवश्यक विषादि व्यवस्था गरेको जनाइएको छ ।

