- Loading...
बाँझो जमिनलाई उपयोगमा ल्याउन कार्यविधि निर्माण
- कृषि टि.भी.
- २ साल अघि
- ११ पटक पढिएको

मकवानपुरका दुई पालिकाले बाँझो जमिन उपयोगमा ल्याउने भएका छन् । थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाले आफ्नो पालिकाभित्र बाँझो रहेका जमिनमा खेती गर्ने भएका हुन् । त्यस परियोजनाका लागि पालिकाहरूले बाँझो जमिनको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा पुर्याएका छन् ।


कोभिड–१९ का कारण लकडाउन कति लम्बिन्छ र दुई देशको सिमाना कहिलेसम्म बन्द हुन्छ भन्ने अझै अन्यौल छ । थाहा नगरपालिकाका मेयर लवशेर विष्टका अनुसार यस्तो अवस्थामा कृषि उत्पादनलाई जोड दिनुको विकल्प नभएकाले नगरपालिकाभित्रको बाँझो जमिन उपयोगमा ल्याउन लागिएको हो । उक्त नगरपालिकाले वडा कार्यालयमार्फत अहिले बाँझो जमिनको लगत लिइरहेको मेयर विष्टले जानकारी दिनुभयो । बाँझो रहेका जमिनमा खेती गर्न नगरपालिकाले अनुदान दिने व्यवस्था समेत गर्न लागेको छ । त्यहाँस्थित उत्पादित खाद्यान्न स्थानीय सहकारी संस्थाले खरिद गर्ने व्यवस्था पनि मिलाएको छ । लकडाउनका कारण काम गर्न नपाएर खान समस्या भएकालाई बाँझो जमिनमा खेती गर्न लगाउने र काम गरेबापत खाद्यान्न उपलब्ध गराउने नगरपालिकाको नीति छ । यस्तै विदेशबाट आएकालाई उनीहरूकै सीपअनुसार अनुदान दिएर उत्पादनमूलक काममा लगाउने तयारी पनि नगरपालिकाले गरेकोे छ । यता हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले पनि बाँझो जमिन उपयोगमा ल्याउन कार्य्विधि नै पारित गरिसकेको छ ।

