- Loading...
बर्दियामा गहुँ बिक्री नहुँने समस्या
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

लामो समयसम्म मुलुक लकडाउन भएपछि यतिबेला बाँके, बर्दिया लगायतका किसानलाई गहुँ बिक्रीमा समस्या भएको छ । उनीहरुसँगै अधिकांश जिल्लाका किसान गहुँ बिक्री नभएको भन्दै चिन्तित बनेका छन् ।


कृषि पेशाबाटै वर्षभरीको गुजारा गर्ने किसानहरु घरमा गहुँ भित्राए पनि बिक्री गर्न नपाएको उनीहरुको गुनासो छ । जानकी गाउँपालिका वडा नम्वर ५ का किसान सन्तोषकुमार बर्माले गहुँ बेचेर दैनिक उपभोग्य वस्तु किन्ने सोच भएपनि बन्दका कारण बिक्री नभएको बताउनुभयो । गहुँ घरैमा राख्दा पनि पानीमा भिजेर नोक्सान हुने स्थानीयलाई जोखिम बढेको छ । अर्कोतर्फ घरमा व्यवहारिक समस्या टार्न पैसाको समेत अभाव छ । सरकारले निश्चित नियम बनाएर गहुँ बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुले बताएका छन् । लकडाउन लम्बिँदै गएपछि विपन्न वर्गका साथै मध्यम वर्गीय परिवार समस्यामा पर्न थालेका छन् । लामो समयसम्म काम नभई घरमा बस्दा भान्सामा समेत खर्च बढेको छ भने कामकाज ठप्प भएपछि अधिकांश व्यक्ति बेखर्ची भएका छन् । सरकारले गत शुक्रबार मात्र किसानबाट खरिद गर्न गहुँको समर्थन मूल्य कायम गरेको छ । किसानलाई प्रोत्साहन मिल्ने भन्दै प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ मूल्य तोकेको हो । तर मूल्य तोकेपनि हालसम्म खरिद कसरी र कहिलेदेखि गर्ने भन्ने जानकारी नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय नेपालगञ्जले जनाएको छ ।

