- Loading...
किसानको उत्पादन घुम्ती सेवामार्फत बिक्री
- कृषि टि.भी.
- २ साल अघि
- १० पटक पढिएको

लकडाउन बढेपछि स्थानीय सरकारले किसानको उत्पादन घुम्ती सेवामार्फत बिक्री गर्न थालेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा तरकारीजन्य कृषिउपज बिक्री गर्न अभियान चलाएको हो ।


लकडाउनका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । तरकारी संकलन तथा बिक्रीका लागि कृषि एम्बुलेन्स जस्तै घुम्ती सेवा अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । अभियान अन्तर्गत नेउलापुर कृषिउपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने र टोलटोलमा पुर्याउने गरेको नगरपालिकाको कृषि शाखा प्रमुख धरुवराज बमले जानकारी दिनुभयो । नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेका लौका, बोडी, भिन्डी, करेलासहित काँक्रा, फर्सीलगायत हरियो तरकारी बिक्री हुने गरेको कृषि शाखाले जनाएको छ । नेउलापुर कृषिउपज बजार समितिले तरकारी संकलन र बिक्री उपसमिति बनाएर किसानले उत्पादन गरेका तरकारी संकलन र बिक्रीको जिम्मेवारी दिएको छ । लकडाउनले बजार तथा होटल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्री हुन सकेको थिएन । तरकारी बिक्री नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका किसान बारीबाटै बिक्री हुन थालेपछि खुसी भएका छन् ।

