- Loading...
असिनापानी र हावाहुरीले कृषि बालीमा क्षति
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

लकडाउनपछि समस्यामा परेका किसानलाई असिनापानी र हावाहुरीले झन् दुःख दिएको छ । गण्डकी प्रदेश र प्रदेश २ का बारा, पर्सासहित मुलुकभरका करिब ५५ हजार हेक्टरमा लगाएको कृषि बालीमा क्षति पुर्याएको छ ।


वैशाख पहिलो र दोस्रो साता आएको हावाहुरीले तरकारी, गहुँ, केरा, आँपलगायत बालीमा क्षति पुयाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा २३ हजार १ सय ५३ हेक्टरमा लगाइएको कृषि बाली प्रभावित भएको छ । यस्तै बारामा २२ हजार २२ दशमलव ५, पर्सामा ७ हजार २ सय २१ र सर्लाहीमा २ हजार १ सय ५० दशमलव ५ हेक्टरको बालीमा नोक्सानी पुगेको मन्त्रालयले बताएको छ । चितवन, रौतहटलगायत क्षेत्रमा पनि क्षति पुगेको छ । तर लकडाउनका कारण विवरण संकलनमा कठिनाई भएको मन्त्रालयले जनाएको छ । हावाहुरी र असिनाले बारा, पर्सा, चितवनसँगै गण्डकी प्रदेशमा धेरै क्षति भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । उक्त क्षतिबारे गाउँपालिकाले कृषि ज्ञान केन्द्रमार्फत मन्त्रालयमा सिफारिस गर्नुपर्ने हो । तर लकडाउनकै कारण विवरण संकलनमा समस्या भएको मन्त्रालयले बताएको छ ।

