- Loading...
बाँझो जमिन खेर जान नदिने सरकारको रणनीति
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

सरकारले बाँझो जमिन खेर जान नदिने रणनीति लिएको छ । भूमि बैंक स्थापना गरी खाली जमिनलाई उपयोग गर्ने सरकारको नीति छ । खाली जमिनलाई खेर जान नदिने र कृषियोग्य भूमिको पूर्ण उपयोग गरी सघन खेती प्रणालीका माध्यमबाट कृषि उत्पादन गर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ ।


आगामी आर्थिक वर्ष कृषि क्षेत्रमा थप आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धिमा जोड दिइने बताइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार मुलुकभर करिब ४१ लाख हेक्टर जमिनमा खेती गर्न सकिने छ । त्यसमध्ये लगभग ३१ लाख हेक्टरमा मात्र खेती भइरहेको छ । करिब १० लाख हेक्टर जमिनमा खेती नभएको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गरी करार तथा व्यावसायिक, सहकारी र सामूहिक खेती गर्न वा समुदायको समन्वयमा एकै प्रकारको बाली लगाउन उत्प्रेरित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहमार्फत बाँझो रहेका सार्वजनिक जग्गामा करार खेती गर्न प्रोत्साहन गरिने पनि संघीय संसदमा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । त्यस्तो खेती प्रणालीको प्रवद्र्धन गरेर सरकारले एकसाथ उत्पादन वृद्धि र रोजगारी सिर्जना गरिने बताएको छ । कृषि उत्पादकत्व १० वर्षमा दोब्बर गर्न कृषिको आधुनिकीकरण र व्यवसायीकरणको योजनासहित कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गरिने उहाको भनाई छ ।

