- Loading...
मकैमा फौजी कीराको प्रकोपले इलामका किसान चिन्तित
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको

मकैमा फौजी कीराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । धान चमरा आउन थालेको मकैमा कीरा लागेपछि उनीहरु चिन्तित भएका हुन् । करिब १२ रोपनी जमिनमा आफूले लगाएको मकैलाई कीराले खाएको माङसेबुङ गाउँपालिकास्थित इभाङका किसान करणवीर योङहाङले जानकारी दिनुभयो ।


उहाँले अहिलेसम्म कीरा नियन्त्रणको कुनै उपाय निकाल्न सक्नुभएको छैन । यता गाउँपालिकाको कृषि शाखामा कीरा नियन्त्रणका लागि केही पनि औषधि नभएको जवाफ दिएको किसान योङहाङले बताउनुभयो । जिल्लाको माङसेबुङ, चुलाचुली, फाकफोकथुम, माई, इलाम, सूर्योदय नगरपालिका लगायत सबैजसो स्थानीय तहमा लगाइएको मकैमा फौजीको प्रकोप देखिएको छ । यस्तै जिल्लाको साढे पाँच सय हेक्टर जमिनमा लगाइएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रुजन खड्काले बताउनुभयो । फौजीको प्रकोप बढेसँगै दैनिक पाँचदेखि सात जना किसान त्यसको रोकथामको उपाय खोज्न कार्यालयमा पुग्ने गरेका छन । यता दैनिक १५–१६ जना किसानले टेलिफोनबाटै रोकथामको उपाय सोध्ने गरेको कृषि प्रसार अधिकृत खड्काले जानकारी दिनुभयो । तर चालू आर्थिक वर्ष कार्यालयले आकस्मिक बजेटका लागि रकम नछुट्याएकाले फौजी नियन्त्रणका लागि औषधि खरिद गर्न नसकिएको कृषि प्रसार अधिकृत खड्काको भनाई छ ।

