- Loading...
८० हजारलाई रोजगारी दिने सरकारको तयारी
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई रोजगारी दिने योजनासहितको प्रतिवेदन तयार पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाखा प्रमुख पुष्पराज शाहीको संयोजकत्वमा गठित कार्यदलले तत्काल, मध्यकाल र दीर्घकालीन लक्ष्य सहित रोजगारीको योजना बनाएको हो ।


कृषि मन्त्रालय, श्रम, अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा निजी क्षेत्रसहितका प्रतिनिधिले तयार पारेको अध्ययन प्रतिवेदन उद्योगमन्त्री लेखराज भट्टलाई बुझाइएको छ । प्रतिवेदनले तत्काल रोजगारी सिर्जना गर्न कृषि क्षेत्र नै उत्तम रहेको उल्लेख गरेको छ । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएसँगै विदेशमा रहेका धेरै नेपालीको रोजगारी संकटमा परेको छ । सरकारी तथ्यांक अनुसार श्रम स्वीकृति लिएर करिब १५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् । त्यसबाहेक भारतसहितका मुलुकमा करिब ४५ लाख नेपाली रोजगारीमा पुगेका छन् । कोरोनाकै कारण तत्काल ४ लाख श्रमिक नेपाल फर्किन सक्ने सरकारी अनुमान छ । त्यस तथ्यांकलाई लक्षित गर्दै सरकारले रोजगारीको योजनासहितको अध्ययन तयार गरेको हो । अध्ययन प्रतिवेदनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत ८० हजारलाई रोजगारी दिन सकिने उल्लेख छ । त्यसका लागि २ अर्ब २७ करोडको बजेट हुनुपर्ने जनाइएको छ । लघु, साना तथा मझौला उद्योगको स्तरोन्नति गरेर उत्पादनमूलक रोजगारीतर्फ लैजान सक्ने पनि बताइएको छ ।

